२३ जेठ २०८२, शुक्रबार
Tags

वैदेशिक रोजगारको प्रलोभनमा पारेर लैजाँदै गरिएका ९ जनाको जोगवनी नाकाबाट उद्धार

रणभूमी डेस्क बिहिबार, जेठ २२, २०८२

बिराटनगर / वैदेशिक रोजगारको प्रलोभनमा पारेर भारत हुँदै तेस्रो मुलुक लैजाँदै गरिएका ७ जना महिला र २ जना नाबालकको उद्धार गरिएको छ।

मानव बेचबिखन विरुद्ध काम गर्ने संस्था टाइनी ह्यान्ड्स (साना हातहरू) नेपालले जोगबनी रेलवे स्टेशनबाट मंगलबार उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएकाहरूमध्ये ऋषिदेव थर भएका १५ र १७ वर्षका दुई जना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ।

झापा, धादिङ र रामेछाप जिल्ला घर भएका उद्धार गरिएका महिलाहरू जोगबनीबाट कलकत्ता जाने रेलको एउटै डब्बामा सवार थिए। उनीहरूलाई एक एक जना गरेर सीमा पार गराइएको पीडित महिलाहरूले बताएका छन्।

तस्करहरूले पीडितहरूलाई “नेपालबाट भिजिट भिसामा वैदेशिक रोजगारका लागि जान बन्द छ, हामी भारतको बाटो भएर तपाईंहरूलाई दुबई, कुवेत र बहराइन पठाइदिन्छौं” भनी झुक्याएका थिए। दुई जनासँग १ लाख ९५ हजारको दरले रकम लिएको र अन्य ५ जनालाई कुवेतका लागि निःशुल्क भिसा र टिकटको प्रलोभन दिएको पीडितहरूले बताए।

तीन जनालाई तस्करहरूले जिल्ला प्रशासन कार्यालय झापाबाट राहदानी बनाइदिएको तर हातमा नदिएर सिधै प्लेन चढ्ने बेलामा दिने भनी लैजान लागेको पनि पीडितहरूले बताएका छन्।

छेलीबेटी तथा बेचबिखन विरुद्ध सक्रियताका साथ काम गर्ने संस्था साना हातहरू नेपालले जोगबनी रेलवे स्टेशनबाट उद्धार गरेर फेलापारी इलाका प्रहरी कार्यालय रानीलाई जानकारी गराएको थियो।

संस्थाले एक दिन आफ्नै कार्यालयमा काउन्सिलिङ गरेर सबैका अभिभावकलाई जिम्मा लगाएको साना हातहरू नेपाल संस्थाका मोरङ जिल्ला शाखा प्रमुख विवश श्रेष्ठले जानकारी दिए।

उक्त घटनामा कुनै पनि म्यानपावर वा सो संग सम्बन्धित व्यक्तिहरू जोडिएको नभएको र सामान्य चिनजानको फोनको भरमा अपरिचित व्यक्तिहरूले वैदेशिक रोजगारको नाममा लैजान लागेको खुलेको छ।

यहाँ कमेन्ट गर्नुहोस्