३० जेठ २०८२, शुक्रबार
Tags

देशैभर लागूऔषधसहित ३० जना पक्राउ, ब्राउनसुगरदेखि नोफिनसम्म बरामद

रणभूमी डेस्क मंगलबार, जेठ २७, २०८२

काठमाडौं / मुलुकभरका विभिन्न स्थानहरूबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित सोमबार एकैदिन ३० जना व्यक्तिहरू पक्राउ परेका छन्। प्रहरीले विभिन्न जिल्लामा सञ्चालन गरेको विशेष सुराकी तथा निगरानी अभियानको क्रममा लागूऔषध बिक्री, वितरण तथा ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ बौथलीचोकमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय भाईराज श्रेष्ठको पसलबाट प्रहरीले पोल्याण्ड जस्तो देखिने लागूऔषध ८७५ ग्राम र चरेश जस्तो पदार्थ १५ ग्राम बरामद गरी पक्राउ गरेको हो। प्रहरीले बलम्बु प्रहरी प्रभागबाट खटिएको टोलीले पसल तलासी गर्दा ती पदार्थ फेला पारेको जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा पनि ठूलो मात्रामा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। सुरज बानिया, निनामा राई, आयुष राई, अन्जन राना र अजय गौतमको साथबाट नोफिन २९ एम्पुल, डाईजेपाम १७, फेनारगन ५४ एम्पुल, ५२ थान सिरिन्ज, १ लाख ३७ हजार ५ सय ६५ नेपाली रुपैयाँ, १ हजार भारतीय रुपैयाँ, ८ थान मोबाइल र २ थान मोटरसाइकल बरामद गरिएको छ।

रूपन्देहीमा दुई छुट्टाछुट्टै घटनामा ४ जना पक्राउ परेका छन्। भैरहवा बसपार्कबाट भारतको कानपुरका तीन युवा — साहवान खान, फैसल खान र साहजन खान — स्पास्मो १९७ ट्याब्लेटसहित पक्राउ परेका हुन्। अर्का घटनामा बुटवल नयाँ बसपार्कबाट पर्वतका कृष्ण विश्वकर्मा डाईजेपाम, फेनारगन र टालजेसीक ७५–७५ एम्पुलसहित पक्राउ परेका छन्।

दाङको पथ्थरकोटबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित केशव डाँगी र केशव घर्ती मगर पक्राउ परे। त्यस्तै उदयपुरमा ट्रामाडोल ५५ ट्याब्लेटसहित रोनिस दाहाल र अर्का एक जना पक्राउ परेका छन्।

झापाको डाँगीबारीबाट ब्राउनसुगर २ ग्राम ४० मिलिग्रामसहित अन्जु मण्डल र अशारू चौधरी पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ पैदल आइरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बर्दियाको कण्ठपुरमा पनि ब्राउनसुगर १ ग्राम २२० मिलिग्रामसहित सुरज सुनार र सुमित विक पक्राउ परे। उनीहरू भारतीय सीमा नजिकैबाट नेपालतर्फ आउँदै गरेका बेला मोटरसाइकलमा सवार अवस्थामा फेला परेका थिए।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा करिब ६ किलो २ सय ग्राम गाँजासहित गोरखाका दिनेश श्रेष्ठ पक्राउ परे। उनी काठमाडौंबाट गोरखा जाँदै गरेका बेला मुग्लिङ पुलजिपको टोलीले माईक्रोबसमा चेकजाँच गर्दै गर्दा फेला पारेको थियो।

कैलालीको चौरीपुरबाट ट्रामाडोल १०६ ट्याब्लेटसहित निर्मल कटेल पक्राउ परेका छन् भने चितवनको पोखरा बसपार्कबाट नाईट्राजेपाम ४० ट्याब्लेटसहित नवलपरासीका १८ वर्षीय किशोर पक्राउ परेका छन्।

प्रहरीले सबै घटनामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय अवैध लागूऔषध कारोबारमा युवा पुस्ता बढी संलग्न देखिएको भन्दै प्रहरीले नियन्त्रण तथा निगरानी कार्यलाई अझ सशक्त बनाएको बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्