३० जेठ २०८२, शुक्रबार
Tags

मुद्दा मिलाउने नाममा रकम असुली गर्ने दुईजना नक्कली डिएसपी पक्राउ

रणभूमी डेस्क बुधबार, जेठ २८, २०८२

काठमाडौं / नेपाल प्रहरीको डिएसपी हुँ भन्दै व्यक्तिहरूलाई झुक्याई लाखौँ रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–८ का ४५ वर्षीय ज्ञान बहादुर लामा उर्फ ज्ञानु तामाङ र काठमाडौं, कलंकी बसोबास गर्दै आएका सुनसरी इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझा रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूले प्रहरी हिरासतमा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने आश्वासन दिँदै आफुलाई ‘डिएसपी’ को रूपमा चिनाएर सम्बन्धित व्यक्तिका आफन्तसँग ६ लाख रुपैयाँ असुल गरेका थिए।

उक्त घटनाबारे ठगी पीडितले प्रहरीमा उजुरी दिएका थिए। त्यसको आधारमा अनुसन्धान थालिएको र विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तामाङ र ओझालाई काठमाडौंकै विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ।

दुवै जना उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइ अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरू यसअघि पनि यस्तै किसिमका नक्कली पहिचान देखाई विभिन्न व्यक्तिहरूलाई ठग्ने काममा संलग्न भएको आशंका गरिएको छ। हाल उनीहरूको पछिल्लो गतिविधि र सम्भावित पीडितहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले नागरिकलाई यस्ता नक्कली पदधारीहरूबाट सचेत रहन अनुरोध गरेको छ। कुनै पनि व्यक्तिले प्रहरी वा सरकारी कर्मचारीको परिचय दिँदै अनौपचारिक रुपमा आर्थिक लेनदेन गर्न माग गरेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्