०१ आषाढ २०८२, सोमबार
Tags

समाजिक सञ्जालमा भ्रामक तथा तथ्यहीन सामग्री पोष्ट गर्ने युवती पक्राउ

पवन कुमार शाह आइतबार, जेठ ३२, २०८२

काठमाडौं / टिकटक जस्ता सामाजिक सञ्जालमा नियोजित ढंगले तथ्यहीन र भ्रामक सामग्री पोष्ट गरी समाजमा जातीय तथा साम्प्रदायिक द्वेष फैलाउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जाल टिकटक मा नियमित रूपमा उत्तेजक तथा समाजमा विद्वेष फैलाउने उद्देश्यले व्यक्तिविशेष र संस्थालाई लक्षित गरी आधारहीन विषयवस्तु प्रस्तुत गरिएको पाइएपछि अनुसन्धान थालिएको थियो। अनुसन्धानक्रममा हरिसिद्धिबुंग नगरपालिका वडा नं. ६, सिन्धुली स्थायी ठेगाना भएकी हाल भक्तपुर बसोबास गर्दै आएकी २२ वर्षीया युवती पक्राउ परेकी हुन्।

साइबर ब्युरोका अनुसार ती युवतीले आफ्नै विद्युतीय उपकरण प्रयोग गरी २०७९ सालदेखि नै अन्तरगतिक सामग्रीहरू तयार पारेर युट्युब, टिकटक लगायतका माध्यमबाट प्रसारण गर्दै आएकी थिइन्। ती सामग्रीहरूमा व्यक्तिविशेष, संस्था तथा सम्प्रदायप्रति नकारात्मक धारणा फैलाउने, भ्रम सिर्जना गर्ने, सार्वजनिक शिष्टाचार विपरीत हुने किसिमका कुराहरू समेटिएका थिए।

भक्तपुरबाट पक्राउ गरिएकी युवतीमाथि काठमाडौं जिल्ला अदालतको आदेशअनुसार तीन दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज ओझाको हस्ताक्षर रहेको विज्ञप्तिमा सामाजिक सञ्जालको दुरुपयोग नगर्न सर्वसाधारणमा आग्रह गरिएको छ। साथै, यस्ता गैरकानुनी क्रियाकलाप गर्नेहरूलाई कानुन अनुसार कारवाही गरिने स्पष्ट गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्