
पवन शाह सोमबार, आषाढ ०१, २०८२

विराटनगर / भारतबाट भन्सार छली ल्याइएका कपडा बोकेको स्कुल बससहित दुई जना व्यक्तिलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–१४ का ३८ वर्षीय बस चालक गोपाल रेग्मी र विराटनगर–१५ का ४८ वर्षीय सहचालक मंगला यादव रहेका छन्।
कान्तिपुर कलेज लेखिएको बसमार्फत भन्सार नतिरी ल्याइएका वस्तुहरू बोकेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा खटिएको टोलीले आइतबार जाँच गर्ने क्रममा बसभित्र लुकाइएको अवस्थामा रहेको सामान फेला पारेको हो।
प्रहरीका अनुसार बसबाट ३८७ थान कुर्ता–सुरुवालसहित अन्य लुगा सामग्रीहरू बरामद गरिएको छ, जसको कुल बजार मूल्य करिब ६ लाख १६ हजार रुपैयाँ बराबर रहेको छ। बरामद वस्तुहरू आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।
यहाँ कमेन्ट गर्नुहोस्