
पवन शाह सोमबार, आषाढ ०१, २०८२

विराटनगर / मोरङ र झापाका विभिन्न स्थानहरूबाट लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। प्रहरीको सक्रिय निगरानी तथा चेकजाँच अभियान अन्तर्गत उनीहरूलाई प्रतिबन्धित औषधी र खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको हो।
प्राप्त जानकारीअनुसार, असार १ गते राति लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले मोरङको उर्लाबारी नगरपालिका–४ निवासी ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाललाई खैरो हिरोइनसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट २ ग्राम १ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ।
त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–४ स्थित बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले २२ वर्षीय निजाम मियालाई १ ग्राम ४४० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ। अर्का एक आरोपी झापा दमक–७ निवासी १९ वर्षीय पुष्कर मगरलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ६२० चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरीले लागूऔषध ओसारपसार तथा सेवन नियन्त्रणका लागि नियमित चेकजाँच र निगरानी कार्यलाई अझ प्रभावकारी बनाइरहेको जनाएको छ।
प्रहरीले आम नागरिकलाई पनि यस्ता अवैध कार्य विरुद्ध सहयोग गर्न र सूचना दिन आग्रह गरेको छ।