०१ आषाढ २०८२, सोमबार
Tags

क्यानडा र युके पठाउने प्रलोभनमा ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ

पवन शाह सोमबार, आषाढ ०१, २०८२

३५ वर्षीया दीपा शर्माले क्यानडाको सपना देखाएर २३ लाख ५० हजार, २७ वर्षीय व्रिजेश सुवेदीले युकेको नाममा २ लाख ५० हजार लिएका थिए। ठगीपछि सम्पर्कविहीन बनेका उनीहरूलाई प्रहरीले क्रमशः बुढानिलकण्ठ र काठमाडौं–१२ बाट समातेको हो।

काठमाडौं / वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लाखौं रुपैयाँ ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने, कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थायी घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन्।

प्रहरीका अनुसार दीपाले ‘क्यानडामा आकर्षक रोजगारी दिलाइदिन्छु’ भन्दै एक जना पीडितबाट २३ लाख ५० हजार रुपैयाँ लिई फरार भएकी थिइन्। यस्तै, व्रिजेशले ‘युकेमा रोजगारीका लागि पठाइदिन्छु’ भनी अर्को व्यक्तिबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।

पीडितहरूबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले शनिबार दीपालाई बुढानिलकण्ठ नगरपालिका–११ बाट र आइतबार व्रिजेशलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेकी दीपालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ भने व्रिजेश सुवेदीलाई वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस घटनालाई वैदेशिक रोजगारीको नाममा भइरहेको ठगीको गम्भीर दृष्टान्तका रूपमा लिएको छ र नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्