
पवन शाह मंगलबार, आषाढ ०२, २०८२

विराटनगर / लागू औषध विरुद्धको अभियानलाई तीव्र बनाउँदै प्रहरीले मोरङ र झापाको विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार, असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिक लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा कन्काई नगरपालिका–४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई ब्राउन सुगर २१ ग्राम ९४० मिलिग्रामसहित पक्राउ गरेको हो।
त्यसैगरी, सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको अर्को प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट दमक नगरपालिका–१ का ३२ वर्षीय विजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीलाई १३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
यता, मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३० वर्षीय पंकज खत्रीलाई ४ ग्राम ११ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने नीति अनुसार निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउने बताएको छ।