
पवन शाह मंगलबार, आषाढ ०२, २०८२

सुनसरी / सुनसरी जिल्लाको धरान र इटहरी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। दुईवटा ट्रकमार्फत बन्दा, अदुवा र आलुको नाममा ढुवानी गरिँदै गरेको ४ हजार २ सय ३० किलोग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, असार २ गते धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा चेकजाँच गर्दा अदुवा र बन्दा कोबीको बोराभित्र लुकाई राखिएको ७० वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ हजार १ सय ३० किलो गाँजा फेला परेको हो।
त्यस्तै, असार ३ गते इटहरी उपमहानगरपालिका–२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँच गर्दा ना. ५ ख ६११६ नम्बरको अर्को ट्रकमा ७० वटा प्लास्टिकको बोराभित्र प्याक गरी, माथिबाट आलु र बन्दा कोबीको बोराले ढाकी राखिएको अवस्थामा २ हजार १ सय किलो गाँजा फेला परेको छ।
यस घटनासँगै ट्रक चालक धनकुटाको शाहिदभूमि गाउँपालिका–६ का राजेन्द्र राई, सोही स्थानका सुनिल राई तथा सुनसरी बराहक्षेत्र–९ का सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उता, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा पाख्रिवास नगरपालिका–८ का नारायण प्रसाद राईलाई ९ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरेको छ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्नको पहिचान र नेटवर्क खुलाउने गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ। यस्ता अवैध कारोबार विरुद्ध निगरानी र कारबाही अझ कडा बनाइने समेत प्रहरी स्रोतले जानकारी दिएको छ।