
पवन शाह सोमबार, आषाढ ०८, २०८२

झापा / झापाको कचनकवल गाउँपालिकामा एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
कचनकवल गाउँपालिका–६, पल्लाबारी निवासी २३ वर्षीय हरदेव यादवलाई २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
प्रहरीका अनुसार पीडित महिलाले हरदेव यादवविरुद्ध जबरजस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
“घटना उजागर भएसँगै तत्काल अनुसन्धान सुरु गरिएको थियो,” जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले भने, “हाल पक्राउ परेका अभियुक्तमाथि आवश्यक अनुसन्धान भइरहेको छ।”
पीडित महिलाको गोपनीयताको कारण विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, कानुनी प्रक्रिया अनुसार अगाडि बढाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।