०९ आषाढ २०८२, मंगलबार
Tags

सिटी सफारीमा छुटेको झोलामा रहेको ७७ हजार नगद र आईफोन प्रहरीद्वारा खोजेर धनिलाई फिर्ता

पवन शाह मंगलबार, आषाढ ०९, २०८२

विराटनगर / सिटी सफारीमा छुटेको झोलामा रहेको नगद ७७ हजार ५ सय रुपैयाँ र आईफोन मोबाइल सहितका सामान प्रहरीले सही सलामत धनीलाई फिर्ता गरिदिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, विराटनगर महानगरपालिका-५ निवासी ८० वर्षीय ईश्वर प्रसाद उपाध्यायको खैरो रंगको हेण्डब्यागमा रहेको नगद र अन्य सामान फिर्ता गरिएको हो।

गत शुक्रवार दिउँसो १२:३० बजे जोगबनीबाट प्रदेश १-००२ ह ३९३० नम्बरको सिटी सफारीमा विराटनगरतर्फ आएका उपाध्यायले विराटनगर-५ जानकी चोकमा ओर्लिएपछि आफ्नो झोला सिटी सफारीमा छुटेको थियो। झोलामा नगद ७७ हजार ५ सय रुपैयाँ, आईफोन मोबाइल र अन्य कागजपत्रहरू रहेका थिए।

उपाध्यायले प्रहरीमा निवेदन दिएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरू गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङको सीसी टिभी फुटेजको सहायताले उक्त नम्बरको सिटी सफारी पहिचान गरी चालकलाई सम्पर्क गरिएको थियो।

विराटनगर-६ सरोचिया निवासी २७ वर्षीय चालक हरिष साहलाई सम्पर्क गरेपछि उनले सिटी सफारीमा रहेको झोला वडा प्रहरी कार्यालयमा बुझाएका थिए। धनी उपाध्यायलाई सबै सामान प्रहरीले सही सलामत फिर्ता गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्