१२ आषाढ २०८२, शुक्रबार
Tags

विराटनगरमा चोरी कार्यमा संलग्न भारतीय महिलाहरुको गिरोह पक्राउ

पवन शाह शुक्रबार, आषाढ १२, २०८२

बिराटनगर / बिराटनगर बजार क्षेत्रमा बृद्ध तथा असहाय व्यक्तिहरूको झोलाबाट नगद र गरगहना चोरी गर्ने कार्यमा संलग्न तीन जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार हिजो दिउँसो २ बजेर ३० मिनेटमा कटहरी गाउँपालिका वडा नम्बर १ बुधहाटमा एक सिटी सफारी रोकेर चेकजाँच गर्दा तीन जना भारतीय महिलाको साथबाट जम्मा ३ लाख रुपैयाँ बरामद भएको छ।

प्रहरीका अनुसार चोरी गर्ने समूहको खोजतलाश गर्ने क्रममा विशेष सूचनाका आधारमा संदिग्ध व्यक्तिहरू सवार सिटी सफारी रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा तीन जना महिलाको साथबाट प्रत्येकसँग १००० रुपैयाँ दर नोटहरू १-१ गड्डी गरी जम्मा ३ लाख रुपैयाँ फेला परेको थियो।

अनुसन्धानका क्रममा सोही सिटी सफारीमा यात्रा गरिरहेका कटहरी गाउँपालिका वडा नम्बर ४ का ७० वर्षीय नारायण प्रसाद काफ्लेको झोलाबाट उक्त रकम चोरी भएको पत्ता लागेको छ। घातक रोगको उपचार गराइरहेका काफ्लेले बैंकबाट रकम निकालेर घर फर्कने क्रममा सिटी सफारीमा चढेका ती महिलाहरूले उनको झोलाबाट नगद चोरी गरेका थिए।

पक्राउ परेका तीनै जना महिला भारतको पूर्णिया जिल्लाका बासिन्दा रहेको खुलेको छ। उनीहरू २४ वर्षीया प्रियंका धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी हुन्।

प्रहरीले चोरी मुद्दामा जाहेरी प्राप्त गरेको र प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरेको छ। मोरङ जिल्ला अदालतबाट म्याद थप भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्