१३ आषाढ २०८२, शनिबार
Tags

लागू औषध गाँजासहित तीन जना पक्राउ

रणभुमी डेस्क शुक्रबार, आषाढ १२, २०८२

विराटनगर कोशी प्रदेशका झापा र सुनसरी जिल्लाबाट लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन गरिएको अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थितबाट असार १२ गते प्रहरीले ७५ किलोग्राम लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले को. १ ह ९५१० नम्बरको अटोमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो। उक्त अटोका चालक ईटहरी उपमहानगरपालिका–१० का ४५ वर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसैबीच, झापा जिल्लाको शनिश्चरे क्षेत्रबाट पनि प्रहरीले दुई जनालाई गाँजासहित पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका–६ की ५९ वर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ स्थायी घर भई हाल अर्जुनधारा–१ मा निर्माणाधीन पुलमा काम गर्दै आएका २० वर्षीय रोशन भट्टराईलाई १ किलो ८८८ ग्राम ६३० मिलिग्राम गाँजासहित पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी चौकी शनिश्चरेको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लागू औषध कारोबारमा संलग्नको पहिचान गरी नियन्त्रण गर्न विशेष निगरानी तथा अपरेसनहरु सञ्चालन भइरहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्