१३ आषाढ २०८२, शनिबार
Tags

सुर्खेतमा दुई जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

पवन शाह शुक्रबार, आषाढ १२, २०८२

सुर्खेत / सुर्खेत जिल्लामा दुई फरक घटनामा जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना २९ वर्षीया महिलामाथि तथा अर्का १२ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका हुन्।

पहिलो घटनामा, बाँके नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल टोलमा बसोबास गर्दै आएका दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ का ३३ वर्षीय वीरेन्द्र शाहीलाई २९ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

त्यसैगरी दोस्रो घटनामा भारतको बिहार राज्यस्थित लोकेन्द्रपुर घर भएका २२ वर्षीय मन्टु कुमारलाई १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। बालिकाको परिवारले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। पीडितहरूलाई स्वास्थ्य परीक्षण तथा सुरक्षासम्बन्धी प्रक्रिया अगाडि बढाइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्