१८ आषाढ २०८२, बिहिबार
Tags

बुल्गेरिया पठाइदिने प्रलोभनमा रकम ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

पवन शाह बुधबार, आषाढ १७, २०८२

काठमाडौं / वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाइदिन्छु भन्दै दुई जना व्यक्तिसँग ६ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक महिला काठमाडौंबाट पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा स्याङ्जा बिरुवा गाउँपालिका–१ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोटमा बस्दै आएकी ५१ वर्षीया कमला कुमारी केसी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ।

प्रहरीका अनुसार केसीले आकर्षक तलबको प्रलोभन देखाउँदै पीडितहरूलाई बुल्गेरिया पठाइदिन्छु भनेर रकम असुलेकी थिइन्। रकम लिएको केही समयपछि उनी पीडितहरूसँग सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा खटिएको प्रहरीले मंगलबार केसीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
पक्राउ परेकी केसीलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारका नाममा हुने ठगीविरुद्ध सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कारवाही गरिने चेतावनी दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्