१८ आषाढ २०८२, बिहिबार
Tags

“झुठो प्रहरी बनेर डाका: विराटनगरमा अर्को अभियुक्त पक्राउ, समूहको आपराधिक संजाल खुल्दै”

पवन शाह बिहिबार, आषाढ १८, २०८२

विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी भएको झुठो परिचय दिएर शरीर बन्धक राखी डाका गर्ने समूहका थप एक सदस्यलाई पक्राउ गरेको छ।

गत असार ११ गते बिहान साढे ११ बजे विराटनगर महानगरपालिका वडा नं. १५ निवासी २० वर्षीय विक्रम कुमार साह तेलीले बैंकमा रु. ३,६४,०००/- जम्मा गर्न भनेर सिटी सफारीमा चढेर जाँदै गर्दा रानी स्थित राइस मिल छेउमा रातो स्कुटरमा सवार ३ जना अपरिचित व्यक्तिहरूले गाडी रोकेका थिए। उनीहरूले प्रहरी भएको झुठो परिचय दिएर पीडितलाई नियन्त्रणमा लिएर विराटनगर महानगरपालिका वडा नं. १४ जतुवा स्थित एकान्त स्थलमा पुर्‍याएर डरत्रास देखाई उक्त रकम डाका गरी फरार भएका थिए।

पीडितको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा असार १५ गते घटनामा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटर सहित विराटनगर महानगरपालिका वडा नं. ८ निवासी २४ वर्षीय समिर हुसेन र वडा नं. ६ निवासी २७ वर्षीय आशिफ अन्सारीलाई पक्राउ गरेको थियो।

थप अनुसन्धान गर्दै जाँदा प्रहरीले असार १८ गते विराटनगर महानगरपालिका वडा नं. ११ निवासी २५ वर्षीय कुशल पाण्डेलाई डाका गरेको नगद रकम रु. १,५०,०००/- र वारदातमा प्रयोग भएको कालो रंगको ट्र्याक र ट्राउजर सहित पक्राउ गरेको छ। कुशल पाण्डे यसअघि पनि ज्यान मार्ने उद्योग र अभद्र व्यवहारका विभिन्न मुद्दाहरूमा संलग्न रहेको प्रहरी अभिलेखबाट देखिएको छ।

पक्राउ परेका सबैलाई पीडितबाट सनाखत गराई शरीर बन्धक बनाई डाका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रवक्ता डिएसपी हस्त बहादुर सुनारले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्