२९ आषाढ २०८२, सोमबार
Tags

“सक्कली प्याक, नक्कली धुवाँ”: खुकुरी चुरोटको नाममा फैलिँदैछ नक्कलीको कारोबार

नक्कली चुरोट, सक्कली समस्या

पवन शाह आइतबार, आषाढ २८, २०८२

विराटनगर / नेपालमा सर्वाधिक लोकप्रिय घरेलु चुरोट ब्रान्ड “खुकुरी” को नाममा पछिल्लो समय नक्कली चुरोटको कारोबार तीव्र गतिमा फैलिएको पाइएको छ। सीमावर्ती क्षेत्रहरूबाट सस्तो मूल्यमा भित्रिने, साजसज्जा मिलाइएको, तर गुणस्तरहीन चुरोटले बजार बिथोलिएको छ। यसले उपभोक्ता मात्र होइन, सरकार र उत्पादक कम्पनी दुवैलाई भारी घाटा पुर्‍याइरहेको छ।

“खुकुरी” ब्रान्डमा देखिने प्याकेट र राजस्व स्टिकर सक्कली झैँ देखिए पनि धेरैजसो चुरोट भारततर्फ उत्पादन भई चोरी पैठारीमार्फत नेपाल भित्र्याइएको भेटिएको छ। चुरोटको कभर र प्याकेजिङ्ग सक्कलीजस्तै बनाएर उपभोक्तालाई झुक्याउने रणनीति प्रयोग भइरहेको छ।

मोरङ्गको विराटनगर रानी नाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट चेकजाँचको निम्ति सीमामा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल ल्याइरहेको केही दर्जन नक्कली खुकुरी चुरोट फेला परेको छ । जसमा नेपाली उत्पादन जस्तै देखिने हुबहु प्याकिङ रहेको र आन्तरिक राजस्व विभागको नक्कली स्टिकर समेत रहेको पाइएको थियो । जसलाई तत्काल सशस्त्र प्रहरीले जफत गरेर नियन्त्रणमा लिएको थियो ।

यसरी मोरङ्ग र सुनसरी लगायतका सीमावर्ती एरियाहरुबाट भारी मात्रामा नक्कली खुकुरी चुरोट नेपाल भित्रिरहेको पाइएको छ । साना तिना पसलहरुमा सहजै खुद्रा रुपमा बिक्री वितरण भइरहेको भारतमा उत्पादित नक्कली खुकुरी चुरोट पाउनेगरेको देखिन्छ । भारतमा उत्पादित हुबहु नेपाली घरेलु उत्पादन रहेको लोकप्रिय ब्रान्ड खुकुरी चुरोटको नक्कली उत्पादन गर्नुको उद्येश्य भने नेपाल सरकारको करौडौं रुपैयाँको कर राजस्व छल्नु का साथै राष्ट्रलाई हानी नोक्सानी पुर्याउने रहेको बुझ्न सकिन्छ।

नक्कली चुरोटमा प्रयोग गरिने सुर्तीको गुणस्तर, केमिकल र प्याकिङ्ग प्रक्रियामा मापदण्ड पालना नहुनाले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विज्ञहरूको भनाइ छ। “कम्पनीहरूले नियमनभित्र उत्पादन गर्छन्, तर नक्कली चुरोटमा नियन्त्रण हुँदैन। यो सामान्यभन्दा धेरै हानिकारक हुन्छ।”

खुकुरी जस्ता लोकप्रिय नेपाली ब्रान्डलाई संरक्षण गर्न अब केवल अनुगमन हैन, जनचेतना, कानुनी कठोरता र उपभोक्ताको जागरूकता पनि आवश्यक छ। सक्कली प्याकेजिङ्मा लुकिएको नक्कली धुवाँले जनस्वास्थ्य, अर्थतन्त्र र उत्पादक कम्पनी सबैलाई धुवाँमा उडाइरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्