
पवन शाह बुधबार, आषाढ ३१, २०८२

सुर्खेत / जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नोट र लागुऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट १३ लाख रुपैयाँभन्दा बढीको खोटा (नक्कली) नोट र ३० केजीभन्दा बढी तौलको अफिम जस्तो देखिने लागूऔषध बरामद भएको छ।
प्रहरीका अनुसार, असार ३० गते दिउँसो १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० शान्ति टोलमा विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा जाजरकोट कुशे गाउँपालिका–५ की दिलमाया सिंह ठकुरीलाई रु. ६ हजार बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको थियो।
सोही दिन साँझ ६ बजे दिलमाया सिंह र रामबहादुर सिंहको डेरामा खानतलासी गर्दा रु. १२ लाख ३६ हजार बराबरको १२३६ थान नक्कली नोट फेला पारिएको प्रहरीले जनाएको छ।
पक्राउको सिलसिलामा, भोलिपल्ट असार ३१ गते राति थप अनुसन्धान गर्दै जाँदा सुर्खेत भेरीगंगा नगरपालिका–१२ स्थित कृष्णबहादुर वली र प्रेमबहादुर बिक को कोठाबाट कालो झोलामा लुकाइ राखिएको ११ किलो ३७२ ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
यसैगरी, प्रहरी टोलीले असार ३१ गते बिहान ८:३० बजे कोहलपुर नगरपालिका–११ न्युरोडमा रहेको ‘जनगर्जन नेटवर्क प्रा.लि.’ नामक मिडिया हाउसका सञ्चालक मनबहादुर सहकारी को डेरा र अफिसमा छापा मार्दा रु. ५१ हजार बराबरको नक्कली नोट, १९ किलो ३०० ग्राम अफिम, प्रिन्टर, कम्प्युटर, क्यामेरा र नोट बनाउने सामग्रीहरू बरामद गरेको हो।
प्रहरीका अनुसार, पक्राउ परेका ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिहरू जाजरकोट घर भएको वर्ष २२ की दिलमाया सिंह ठकुरी, वर्ष ३३ को राम बहादुर सिंह तथा सुर्खेत घर भएको वर्ष ३५ को कृष्ण बहादुर वली, वर्ष ३८ को प्रेम बहादुर विक र बाँके घर भएको वर्ष ३४ को मन बहादुर सहकारी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन्।