
पवन शाह बुधबार, आषाढ ३१, २०८२

बिराटनगर / मोरङको जहदा गाउँपालिका वडा नं. ४ हटिया टोलमा प्रहरीले हतियार सहित दुई जना युवकलाई पक्राउ गरेको छ। आज विहान ०६:०० बजे दिनेश मण्डलको घरमा हतियार लुकाइराखेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले छापा मारी हरि कुमार महतो र आषिश मण्डललाई पक्राउ गरेको हो।
पक्राउ परेका हरि कुमार महतो रोहित महतोका १९ वर्षीय छोरा र आषिश मण्डल दिनेश मण्डलका १९ वर्षीय छोरा मोरङ जहदा गापा-४ का बासिन्दा हुन्। छापाको क्रममा प्रहरीले मेड इन जापान लेखिएको सिक्सर पेस्तोल एक थान, हातमा लगाउने नक एक थान, खुकुरी एक थान, रेडमी कम्पनीको मोबाइल एक थान र हिरो होन्डा मोटरसाइकल एक थान बरामद गरेको छ।
दुवै युवकलाई सामान सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।