१३ साउन २०८२, मंगलबार
Tags

प्रहरी निरीक्षक चौहान र प्रहरी नायब निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा

सञ्जु साह मंगलबार, साउन ०६, २०८२

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा) मोरङमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास अधिकारीलाई असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरेको छ।

प्रहरी निरीक्षक विजय चौहानले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। उनले भद्रपुर नगरपालिका-७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएका छन्। यसैगरी झापा गाउँपालिका-४ स्थितमा चेकजाँचको क्रममा साइकलको चक्का भित्र १६७ ग्राम ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिन सफल भएका छन्।

प्रहरी नायब निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका-३ स्थित एक व्यक्तिलाई ज्यान मारेर फरार रहेको प्रतिवादीलाई सोही दिन पक्राउ गर्न सफल भएका छन्। उनले कर्तब्य ज्यान मुद्दामा जन्मकैद सजाय भएका तथा अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीहरूलाई पक्राउ गरेका छन्। नायब निरीक्षक अधिकारीले लागू औषध दुर्व्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयले दुवै अधिकारीहरूले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै उनीहरूलाई २०८२ असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरी पुरस्कृत गरेको हो।

यहाँ कमेन्ट गर्नुहोस्