१३ साउन २०८२, मंगलबार
Tags

छोरा द्वारा बुबाको हत्या: छुरा प्रहार गरी बाबुको ज्यान लिने छोरा पक्राउ

मोहमद अकील बिहिबार, साउन ०८, २०८२

सुनसरी / सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ मा अकल्पनीय पारिवारिक घटनाले सबैलाई स्तब्ध पारेको छ। आफ्नै बुबामाथि छुरा प्रहार गरी हत्या गरेको आरोपमा ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।

घटना साउन ७ गते बिहानको हो। घरायसी विवाद विशेषतः जग्गा सम्बन्धी विवादले उग्र रुप लिँदा रियाजले आफ्ना बुबा ६० वर्षीय सबिब अंसारीमाथि छुरा प्रहार गरेका थिए। प्रहरीका अनुसार छुरा प्रहार शरीरका विभिन्न भागमा गरिएको थियो, जसका कारण सबिब गम्भीर घाइते भए।

घाइते सबिब अंसारीलाई तुरुन्तै उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो। तर, चिकित्सकको भरमग्दुर प्रयासका बावजुद उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न छोरा मोहम्मद रियाज अंसारीलाई नियन्त्रणमा लिइसकेको छ र घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।

स्थानीय बासिन्दाहरूले यस घटनालाई अत्यन्तै दुःखद र असामान्य भन्दै प्रतिक्रिया जनाएका छन्। एक छिमेकीका अनुसार, बाबु-छोराबीच पहिले पनि केही पटक विवाद भएका थिए, तर यस्तो भयावह मोड लिन्छ भन्ने कसैले कल्पना गरेका थिएनन्।

प्रहरीले अहिले घटनास्थलको मुचुल्का तयार गरी प्रमाण संकलनको कार्य गरिरहेको छ भने, दोषीलाई कानून बमोजिम कारबाही गरिने स्पष्ट संकेत दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्