१३ साउन २०८२, मंगलबार
Tags

शंकास्पद गतिविधिमा संलग्न समूह नियन्त्रणमा: रंगेली प्रहरीले राति गरेको अपरेसन सफल

दिलीप अग्रवाल शुक्रबार, साउन ०९, २०८२

रंगेली / मोरङको रंगेली नगरपालिकामा इलाका प्रहरी कार्यालय रंगेलीको सक्रियतामा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारवाही गरिएको छ। प्रहरी निरीक्षक नरेन्द्र बगोटीको नेतृत्वमा खटिएको टोलीले रातिको गस्तीका क्रममा फरार प्रयास गरिरहेका समूहमाथि सूचनाका आधारमा तत्काल कारबाही गर्दै एक जनालाई नियन्त्रणमा लिन सफल भएको हो।

प्रहरीका अनुसार साउन ९ गते राति करिब १२:३० बजेको समयमा रंगेली नगरपालिका–९ स्थित इटाभट्टा टोलमा रहेको खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिक दुईवटा मोटरसाइकलमा आएका चार जना व्यक्तिहरू प्रहरी देख्नासाथ भाग्न खोजेका थिए। उनीहरूमध्ये तीन जना मोटरसाइकलसहित अन्धकारको फाइदा उठाउँदै फरार भए पनि एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिको साथबाट हेक्सो ब्लेड, सलाई रिन्च, गल्वस, पिलास, ह्यामरजस्ता औजारहरू र प्रदेश १–०२–०५० प ७०९५ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा यस्ता औजारहरू चोरी वा तोडफोडजस्ता आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने आशंका गरेको छ।

पक्राउ परेका व्यक्तिलाई हाल इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। घटनामा संलग्न अन्य तीन फरार व्यक्तिको खोजी कार्य पनि तीव्र पारिएको छ।

यसैबीच, सोही राति प्रहरी टोलीले अर्को सन्देहजनक गतिविधि अन्तर्गत रंगेलीको गुराँस चोकबाट दोहमाना तर्फ जाने सडक खण्डमा करिब १.५ किलोमिटर टाढा सडक छेउमा शंकास्पद रूपमा बसेका दुई व्यक्तिलाई पनि मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक नरेन्द्र बगोटीले रातिको गस्तीमा देखाइएको सक्रियता र सजगताको फलस्वरूप शंकास्पद समूहलाई तत्काल नियन्त्रणमा लिन सफल भएको बताए। साथै उनले अपराध नियन्त्रणका लागि प्रहरीले नियमित गस्ती, सूचना संकलन र कारबाहीलाई निरन्तरता दिइरहेको जानकारी दिएका छन्।

स्थानीय बासिन्दाहरूले प्रहरीको चुस्त निगरानी र चाँडो कारबाहीको प्रशंसा गर्दै यस्ता सुरक्षात्मक प्रयासले समुदायमा सुरक्षित वातावरण निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्