
पवन शाह शुक्रबार, साउन ०९, २०८२

जोगवनी / नेपालसँग सिमाना जोडिएको जोगबनी रेलवे स्टेशनबाट अब सिधै दक्षिण भारतसम्म रेल सेवा सञ्चालन हुने भएको छ। भारतीय रेलवे मन्त्रालयले जोगबनी–ईरोड (तमिलनाडु) सिधा रेलमार्गको स्वीकृति दिएको हो। यो रेलमार्ग सीमाञ्चल क्षेत्रको अहिलेसम्मकै सबैभन्दा लामो दूरीको सेवा हुने बताइएको छ।
वर्षौँदेखि दक्षिण भारतसम्म सिधा रेलको माग उठ्दै आएको थियो। विशेषगरी अररिया, कटिहार, पूर्णिया, सुपौल, मधेपुरा, सहरसा, बेगूसरायजस्ता सीमावर्ती जिल्लाका साथै नेपालका नागरिकहरूका लागि यो रेल मार्ग अत्यन्तै महत्वपूर्ण मानिएको छ। जोगबनी–ईरोड सिधा रेलको सञ्चालनले शिक्षाका लागि दक्षिण भारत जान चाहने विद्यार्थी, उपचारका लागि यात्रा गर्ने बिरामी तथा रोजगारीको खोजीमा दक्षिणतर्फ लाग्ने युवाहरूलाई ठूलो सुविधा पुग्नेछ।
रेल सेवा सप्ताहमा पाँच दिन खगड़िया, बरौनी, हाजीपुर, सोनपुर हुँदै र दुई दिन कटिहार–मालदा मार्ग हुँदै वैकल्पिक रूपमा सञ्चालन हुनेछ। यसले यात्रुहरूको समय, खर्च र असुविधा कम गर्नेछ।
यो रेलमार्गबाट धार्मिक तीर्थस्थल रामेश्वरम्, तिरुपति बालाजीलगायत स्थानहरूमा पनि सिधा यात्रा गर्न सकिने भएकाले धार्मिक पर्यटकहरूलाई पनि लाभ पुग्नेछ। साथै कृषि उत्पादन, व्यापार र मालवहनको दृष्टिले पनि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।
जोगबनी रेलवे स्टेशन नजिकै नेपाल स्थित विराटनगर, इनरुवा, रानी लगायत क्षेत्रका यात्रुहरूलाई अब पटना वा हावड़ा जानुपर्ने बाध्यता हट्नेछ। जोगबनीमै सिधा रेल चढेर उनीहरूले दक्षिण भारत पुग्न सक्नेछन्। यसले नेपाल र भारतबीचको यातायात सम्बन्ध अझ सशक्त हुने अनुमान गरिएको छ।
रेल सेवा चाँडै सुरु हुने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।