
पवन शाह आइतबार, साउन १८, २०८२

विराटनगर / विराटनगर महानगरपालिका–१७ मा पर्ने नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा, व्यवस्थापन र निगरानीलाई थप सशक्त बनाउने उद्देश्यले मोरङको रानीस्थित सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्मको परिसरमा आइतबार एक विशेष बैठक सम्पन्न भएको छ।
वडा अध्यक्ष तथा सीमा सहजिकरण समितिका संयोजक समिम कमर मियाँको संयोजकत्वमा बसेको उक्त बैठकले विभिन्न सरोकारवालाहरूको सहभागिता सहित ११ सदस्यीय सीमा सहजिकरण समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकमा वडा सदस्य, स्वास्थ्यकर्मी, स्थानीय युवा क्लबका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, पत्रकार, शिक्षक, प्रहरी, सशस्त्र लगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा सीमा क्षेत्रमा भइरहेका गतिविधिहरू—जसमा सीमा स्तम्भहरूको अवस्थिति, अतिक्रमण, अन्तरदेशीय अपराध, अवैध निकासी–पैठारी र प्रतिबन्धित लागुऔषधको ओसारपसार—बारे गम्भीर छलफल भएको थियो। यस्ता गतिविधिहरू नियन्त्रण गर्न र सीमावासी नागरिकका समस्यालाई समाधानमुखी ढंगले सम्बोधन गर्न गठित समितिमा सरोकारवाला विभिन्न क्षेत्रका प्रतिनिधिहरू समावेश गरिएको छ।
समितिको संयोजकमा वडा अध्यक्ष समिम कमर मियाँ रहनुहुनेछ भने सदस्यमा जाकिर अलाम, संचित कुमार सिंह, ईद मोहम्द, नवी हुसेन, पवन कुमार साह, गोविन्द साह, एक जना स्थानीय व्यवसायी, प्रहरी सहायक निरीक्षक महमद साविर, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका सशस्त्र प्रहरी निरीक्षक तारानाथ गौतम रहनुहुनेछ। गौतमले समितिको सदस्य–सचिवको जिम्मेवारी पनि सम्हाल्नेछन्।
बैठकले सीमाक्षेत्रमा देखिने समस्याहरू समाधान गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार, नागरिक समाज तथा आवश्यक परे भारतीय समकक्ष निकायहरूसँग समेत समन्वय गर्दै काम गर्नुपर्नेमा जोड दिएको छ। साथै सीमावासीहरूका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, लागुऔषध नियन्त्रणमा निगरानी कडा पार्ने, तथा प्रत्यक्ष संवादमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
समिति बैठक हरेक महिनाको अन्तिम हप्तामा नियमित रूपमा बस्नेछ भने अनुगमन र समन्वयका आधारमा आवश्यक निर्णयहरू गरिने जनाएको छ।