
पवन शाह सोमबार, भाद्र १५, २०८२

विराटनगर / नव अभियान नेपाल विराटनगर शाखा कार्यालयले आ.व. २०८१/८२ को समीक्षा कार्यक्रम सोमबार सम्पन्न गरेको छ। कार्यक्रम विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख नारायण प्रसाद चिमरिया, विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख मन्जु लोहनी, वडा नं. १४ का अध्यक्ष सूर्यनारायण महतो तथा एबीसी नेपाल, माइती नेपाल, आफन्त नेपाल, सिविन नेपाल, सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनी–रानीसहितका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
नव अभियान नेपाल विराटनगरका जिल्ला संयोजक समिर न्यौपानेका अनुसार संस्थाले गत वर्ष ३७२८ जनालाई मानव बेचबिखनविरुद्ध सोधपुछ तथा परामर्श प्रदान गरेको छ। त्यसैगरी विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयका १५ जना विद्यार्थीलाई छात्रवृत्ति सहयोग, १५ जना महिला तथा किशोरीलाई सीपमूलक तालिम, मुसहर बस्तीका ४० जना विद्यार्थीलाई झोला, कापी, कलम तथा खेलकुद सामग्री वितरण गरिएको छ।
संस्थाले इन्टरसेप्ट गरिएका ६१ जनालाई सुरक्षित आवास र परामर्श उपलब्ध गराएको छ भने २०९ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ। साथै, इन्टरसेप्ट भएकी एक बालिकालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको प्रोग्राम डाइरेक्टर सरस्वती मानन्धरले जानकारी दिनुभयो।
कार्यक्रम संस्थाकी अध्यक्ष सविना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।