
रणभूमी सम्वाददाता बुधबार, भाद्र १७, २०८२

विराटनगर / प्रतिबन्धित लागू औषध खैरो हेरोईनसहित मोरङ प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला मोरङको कानेपोखरी गाउँपालिका–६ रमाईलोमा बस्ने २६ वर्षीय मिनबहादुर बस्नेत सोमबार साँझ ५ बजे आफ्नै घरबाट पक्राउ परेका हुन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरले दिएको जानकारीअनुसार बस्नेतलाई घरको उत्तर–पश्चिम कोठामा खाटमा बसिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उनले लगाएको कालो हाफ पाइन्टको गोजीभित्र प्लास्टिकमा बेरेर लुकाइएको खैरो हेरोईन बरामद भएको हो।
पक्राउ परेका बस्नेतबाट प्लास्टिकसहित ५० ग्राम ५०० मिलिग्राम खैरो हेरोईन फेला पारिएको थियो। प्लास्टिक बाहेकको तौल ४३ ग्राम ३५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। साथै उनलाई साथमा रहेको मोबाइल फोन समेत बरामद गरिएको छ।
प्रारम्भिक सोधपुछमा बस्नेतले बरामद लागू औषध बिक्री गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। बरामद वस्तु र पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरी, मोरङमा बुझाइएको छ।