
रणभूमी सम्वाददाता शुक्रबार, भाद्र १९, २०८२

विराटनगर / “तिनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखनको हटाऔँ दुस्चक्रको जालो” जस्ता नारासहित मोरङमा आज १९औं राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस मनाइएको छ।
मानव बेचबिखन नियन्त्रण जिल्ला समिति मोरङको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वडा प्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, मानव अधिकार संजाल, गैरसरकारी संस्था महासंघ मोरङ, आफन्त नेपाल, माइती नेपाल, नव अभियान, साना हातहरु लगायत विभिन्न संघ–संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो।
प्रभातफेरी जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवको अध्यक्षतामा सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन नियन्त्रण तथा निर्मूल पार्ने संकल्पसहित सचेतनामूलक नाराबाजी गरेका थिए।
सहभागी संस्थाहरूले मानव बेचबिखन रोकथाममा तिनै तहका सरकार, सुरक्षासंस्था, नागरिक समाज र गैरसरकारी क्षेत्रबीचको सहकार्य अनिवार्य रहेकोमा जोड दिएका छन्।