
रणभूमी सम्वाददाता सोमबार, भाद्र २२, २०८२

काठमाडौं / जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई सरकारले नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पताललाई सर्कुलर जारी गर्दै घाइतेको ज्यान बचाउन आवश्यक सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मन्त्री मोहन बहादुर पौडेलको अग्रसरतामा जारी भएको निर्देशन अनुसार, संघीय अस्पतालमा भर्ना हुने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी तत्काल उपचार गर्नुपर्नेछ।
त्यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका स्थानहरूमा सहजै उपलब्ध गराउन आग्रह गरेको छ। उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पतालसम्म पुर्याउन सहजीकरण गर्न आह्वान गरिएको छ।
स्वास्थ्य मन्त्रालयले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घाइतेको उपचारमा एकजुट भई सक्रिय रहन पनि आग्रह गरेको छ।