
रणभूमी सम्वाददाता बुधबार, भाद्र २४, २०८२

काठमाडौं / नेपाली सेनाले देशका विभिन्न स्थानमा विशेष अभियान चलाउँदै हतियार र फरार कैदी पक्राउ गरेको छ।
सेनाले महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न ४ जनासहित ७ नाल हतियार बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिज र व्यक्तिगत सामानहरू समेत रहेका छन्। सोही क्रममा विशेष सूचनाको आधारमा सेनाले बालाजु माछापोखरी क्षेत्रबाट थप १ नाल हतियार फेला पारेको छ। यससँगै हालसम्म ७३ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ।
यसैबीच, काभ्रे स्थित धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र प्रहरीबीच झडप भएको थियो। सेनाको सहयोगमा परिस्थितिलाई नियन्त्रणमा ल्याइएको छ। उता, डिल्लीबजार कारागारमा लागेको आगो पनि नेपाली सेना र अन्य निकायको प्रयासमा नियन्त्रणमा लिइएको छ।
फरार कैदी पक्राउ गर्ने क्रममा सुरक्षा फौजले विभिन्न जिल्लामा अभियान तीव्र पारेको छ। हालसम्म सप्तरीमा ४, सुनसरीमा २०२, रुकुम (पश्चिम)मा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जना फरार कैदी पक्राउ परेका छन्।
सुरक्षा निकायहरूले कारागार घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन र फरार कैदी पक्राउ गर्न सशक्त अभियान जारी राखेको जनाएको छ।