
रणभूमी सम्वाददाता बिहिबार, भाद्र २५, २०८२

विराटनगर / मोरङको रानी जोगबनी नाकाबाट पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान करिब ६ बजे नेपालबाट भारततर्फ जाँदै गरेका ती व्यक्तिहरूलाई शंका लागेपछि सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीका डीएसपी विकास खतिवडाको टोलीले रोकेर सोधपुछ गरेको हो। प्रारम्भिक सोधपुछमा उनीहरूले आफैंलाई तेस्रो मुलुकका नागरिक भनेर परिचय दिएका थिए तर साथमा कुनै पनि कागजात प्रस्तुत गर्न नसकेपछि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सोधपुछका क्रममा पक्राउ परेकामध्ये बोलिभियाका ३० वर्षीय मिगल ईमबिसी, नर्थ सुडानका ३० वर्षीय स्मन हमतदेउराही, २८ वर्षीय महम्मद ब्राहिम अहमद, ३० वर्षीय मोहम्मद धपाल र क्यानडाका २८ वर्षीय मोहम्मद मजुप रहेको स्रोतले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट वैध कागजात भेटिएन भने नेपाली रुपैयाँहरु साथमा थियो। उनीहरूको गतिविधि हेर्दा पर्यटक सरह नदेखिएको र फरार अपराधीसमेत हुन सक्ने आशंका गरिएको बताइएको छ।
हाल उनीहरूलाई आवश्यक अनुसन्धान र थप सोधपुछका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ।