
रणभूमी सम्वाददाता बिहिबार, भाद्र २५, २०८२

काठमाडौं / देशभरि सुरक्षा चुनौती बढिरहेका बेला नेपाली सेनाले विभिन्न जिल्लामा महत्त्वपूर्ण सुरक्षा कारबाहीहरू गरेको छ।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ। कैदी पलायनका क्रममा कञ्चनपुरको चाँदनीतर्फ पुगेका सात जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ। त्यस्तै, एक जना कैदीलाई स्थानीयहरूले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदीहरू आफैं कारागारमा फर्किएका छन्।
यसैबीच, रामेछाप जिल्लास्थित जिल्ला कारागारमा ‘बाहिर जान पाउनुपर्छ’ भन्दै कैदीहरूले गरेको आन्दोलन नियन्त्रणका क्रममा सेनाले गोली चलाएको थियो। सो क्रममा १२ जना कैदी घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
यता, काभ्रेपलान्चोकको बनेपा–९ नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
हालसम्म सेनाले देशभरिबाट ९४ नाल विभिन्न प्रकारका हतियार बरामद गरेको छ।
सुरक्षा निकायले आपसी समन्वयमा कारबाहीलाई तीव्र पारेको र मुलुकभरि शान्ति–सुरक्षा कायम राख्ने प्रतिबद्धता जनाएको छ।