१५ कार्तिक २०८२, शनिबार
Tags

“शान्तिपूर्ण आन्दोलनलाई समर्थन, तर निजी सम्पत्तिमाथिको आक्रमण अस्वीकार्य”: सिएनआई उपाध्यक्ष घिमिरे

रणभूमी सम्वाददाता शनिबार, आश्विन ०४, २०८२

विराटनगर / कन्फेडरेसन अफ नेपालिज इन्डस्ट्रिज (सिएनआई) का उपाध्यक्ष भीम घिमिरेले भ्रष्टाचारविरुद्ध जेनेरेशन जेडद्वारा गरिएको शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्दै आन्दोलनकै क्रममा उद्योगी–उद्यमीको सम्पत्तिमाथि भएको आक्रमणप्रति आपत्ति जनाएका छन्।

उनले भाद्र २३ र २४ गते (सेप्टेम्बर ८ र ९) मा भएको आन्दोलनलाई “उज्ज्वल भविष्यका लागि सकारात्मक पहल” भन्दै शहीद युवाप्रति श्रद्धाञ्जली अर्पण गरे। तर संस्थापक अध्यक्ष विनोद चौधरी, मीन बहादुर गुरुङ, हेमराज ढकाललगायतका व्यवसायीको उद्योग, पसल र निवासमा भएको तोडफोड तथा आगजनीलाई “दुखद र चिन्ताजनक” भने।

“निजी क्षेत्र राष्ट्रको विकासको मेरुदण्ड हो। यसमाथि आक्रमण गर्नु राष्ट्रकै हानि हो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। घिमिरेले राज्यलाई नागरिकको जीवन र सम्पत्ति सुरक्षित गर्न आग्रह गर्दै हिंसा मच्चाउनेहरूलाई कानूनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

उनले चेतावनी दिँदै भने, “यस्ता घटनाहरू रोकिएनन् भने उद्योगी पलायन, पूँजी बाहिरिने, आपूर्ति श्रृंखला भंग हुने र आर्थिक गतिविधि अवरुद्ध हुने जोखिम छ।”

सिएनआई ले अन्तरिम सरकार, राजनीतिक दल, युवा पुस्ता र अन्य सरोकारवालासँग संवाद र सहकार्यमार्फत लगानी सुरक्षित गरी “आत्मनिर्भर र समृद्ध नेपाल” बनाउन आग्रह गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्