२७ आश्विन २०८२, सोमबार
Tags

कैलाली र गोरखामा हतियारसहित तीन जना पक्राउ

रणभूमी सम्वाददाता बुधबार, आश्विन ०८, २०८२

काठमाडौं / कैलाली र गोरखामा अवैध हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

कैलाली, गौरीगंगा नगरपालिका-१ बाट पेस्तोल दुई थानसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले समिरलाई पेस्तोल एक थान, म्याग्जिन एक थान र गोली २८ राउण्ड तथा आभाषलाई पेस्तोल एक थानसहित पक्राउ गरेको हो। साथै घटनामा संलग्न अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी गोरखा, पालुङटार नगरपालिका-३ मैबल बस्ने ६३ वर्षीय राम बहादुर राना मगरलाई एकनाले भरूवा बन्दुक दुई थान, बारूद जस्तो देखिने पदार्थ र फलामको गज चार थानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्