०७ कार्तिक २०८२, शुक्रबार
Tags

मौसम परिवर्तनका कारण मोरङमा विपद् व्यवस्थापन बैठक

पवन शाह शुक्रबार, आश्विन १७, २०८२

विराटनगर/ बदलिँदो मौसमका कारण उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाइमा जिल्ला प्रहरी कार्यालयमा विपद् व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न भएको छ।

बैठकमा विपद् व्यवस्थापनको क्रममा जनधनको क्षति रोक्न सबै सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरिएको छ। विशेषगरी लामो दूरीको सवारी यात्रा गर्ने तथा नदी, खोला र तलाउ छेउछाउमा बसोबास गर्नेहरूलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

बैठकमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाली सेना शिव दल गण थलाहा ब्यारेक मोरङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण टंकीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख लक्ष्मी नाथ दहाल, स्थानीय जनप्रतिनिधि, बस व्यवसायीलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको संभावना रहेको जनाएको छ। यसै पृष्ठभूमिमा मनसुन सम्बन्धी विपद् संवाद बैठक आयोजना गरिएको हो।

बैठकले जिल्लामा मनसुन प्रतिकार्य कमाण्ड पोष्टहरूलाई सक्रिय बनाई संभावित विपद् व्यवस्थापन गर्ने र संभावित जोखिम हुनसक्ने स्थानहरूमा प्रचार प्रसार तथा माइकिङ गरी आम नागरिकलाई सचेत गर्ने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि असोज १५ गते जारी गरेको सूचनामा उच्च सतर्कताका लागि अनुरोध गरेको छ। प्राधिकरणले विशेषगरी दशैंको माहोलमा अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न, पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलगायत सबै सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्