रणभूमी सम्वाददाता बुधबार, आश्विन २२, २०८२
विराटनगर / गायक वीरेन्द्र झाले विराटनगर महानगरपालिकामा घुसखोरी र प्रशासनिक बेवास्ताको गम्भीर आरोप लगाएका छन्। झाले सामाजिक सञ्जालमा लेखेको पोस्टमा महानगरपालिकाका कर्मचारीहरूले घुस नलिए काम नगर्ने गरेको दाबी गरेका छन्।
झाका अनुसार, उनले छिमेकीको घर निर्माणसम्बन्धी समस्याको विषयमा तीन महिनाअघि नै निवेदन दिएका थिए। तर बारम्बार खोजी गर्दा पनि कर्मचारीहरूले बहानाबाजी मात्र गरेको उनको गुनासो छ।
“मेयर नागेश कोइरालालाई समेत साथीभाइमार्फत जानकारी गराइयो। पत्रकार मित्रहरूलाई पनि भनियो। तर कुनै काम भएन,” झाले आफ्नो पोस्टमा लेखेका छन्।
झाले कर्मचारीहरूले घुस नदिए काम नगर्ने संकेत दिएको मात्र होइन, अभद्र व्यवहार समेत गरेको आरोप लगाएका छन्। “उल्टै कर्मचारीले हप्काउने र अभद्र व्यवहार गरे,” उनले भनेका छन्।
झाले टिका माया कार्कीको तर्फबाट दिएको निवेदनमा छिमेकी सुनिल डालमियाले मापदण्ड पूरा नगरी घर निर्माण गरेको उल्लेख छ। निवेदनअनुसार, छिमेकीले एक इन्च पनि खाली ठाउँ नछोडी तेर्सिएर घर बनाउँदा कार्कीको घर पर्खाललाई क्षति पुगेको छ।
यस विषयमा महानगरपालिकाले २०८२ साल असार २६ गते सुनिल डालमियालाई निर्माण कार्य रोक्का गर्न र सात दिनभित्र प्रमाणसहित उपस्थित हुन आदेश दिएको छ। इन्जिनियर गोपाल पोखरेलको हस्ताक्षर रहेको पत्रमा स्थलगत निरीक्षणको लागि समेत निर्देशन दिइएको छ।
झाले आफ्नो पोस्टमा महानगरपालिकालाई “लुटपालिका” भनेर सम्बोधन गर्दै थप लेखेका छन्, “यो नगरवासीको नगरपालिका हो कि लुटपालिकाको? सुनेको थिएँ, अहिले भोग्नुपरिरहेको छ।”
उनले घुस नदिए काम नहुने प्रशासनिक संस्कृतिको अन्त्य गर्न नगरवासीको सहयोग माग गरेका छन्। “म चुप लागूँ कि न्याय माग्नुपर्छ?” भन्दै झाले सार्वजनिक रूपमा यो विषय उठाएका हुन्।