२७ आश्विन २०८२, सोमबार
Tags

विराटनगरमा सुनका गरगहना चोरी प्रकरण: तीन जना पक्राउ

रणभूमी सम्वाददाता बिहिबार, आश्विन २३, २०८२

विराटनगर / विराटनगर महानगरपालिका-१२ कामत चोकमा भएको सुन तथा चाँदीका गरगहना चोरी प्रकरणमा प्रहरीले तीन जना संदिग्धलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज ३ गते दिनको समयमा संगिता यादवको घर कोठाबाट घरमा कोही नभएको मौका पारी खरानी रङको झोला सहित सुन तथा चाँदीका गरगहना र नगद रकम चोरी भएको थियो।

चोरी भएको सूचना प्राप्त हुनासाथ प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको थियो। असोज २२ गते प्रहरीले विराटनगर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय धिरेन्द्र कामतलाई चोरी भएको झोला सहित फेला पारी नियन्त्रणमा लिएको थियो।

उनको सोधपुछको क्रममा चोरीमा संलग्न अन्य दुई जनाको पहिचान खुल्न आएपछि प्रहरीले विराटनगर महानगरपालिका-६ बस्ने २२ वर्षीय विवेक कामत र सुनसरी बर्जु गाउँपालिका-२ ठेगाना भएका २१ वर्षीय सुदिप कामतलाई समेत पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट ‘जोर्डन’ लेखिएको खरानी रङको झोला र सुदिप कामतको साथबाट भिभो कम्पनीको मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएकी हुन्।

यहाँ कमेन्ट गर्नुहोस्