
रणभूमी सम्वाददाता सोमबार, आश्विन २७, २०८२

सिरहा / स्रोत नखुलेको ठूलो रकम सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका–२० लकडिगदियानीबाट नगद ८ लाख २५ हजार रुपैयाँसहित कल्याणपुर नगरपालिका–१ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डललाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०२–०१–००३ प २१०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगद बरामद गरेको थियो। मोटरसाइकलको नियमित जाँचका क्रममा ठूलो परिमाणमा नगद फेला परेपछि प्रहरीले चालक राशिन्द्रलाई नियन्त्रणमा लिई सोधपुछ गरेको छ।
पक्राउ परेका राशिन्द्रले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ। नगद कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान थालेको जनाइएको छ।
प्रहरीले बरामद रकम र पक्राउ परेका व्यक्तिको सम्बन्धमा आवश्यक कानुनी कारबाहीका लागि थप छानबिन जारी राखेको छ।