
रणभूमी सम्वाददाता सोमबार, आश्विन २७, २०८२

सुर्खेत / प्रहरीले सुर्खेतमा ठूलो परिमाणमा पटकाजन्य विस्फोटक पदार्थ र तस्करी चिनी बरामद गरेको छ। भेरीगंगा नगरपालिका–५ स्थित बबई चेकपोष्टमा रहेको अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधनबाट निषेधित सामान बरामद गरेको हो।
प्रहरी सहायक निरीक्षक हर्क बहादुर तिरुवाको नेतृत्वमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले यात्रु तथा मालवाहक सवारी साधनहरू चेकजाँच गर्ने क्रममा विभिन्न प्रकारका सामान फेला पारेको थियो।
प्रहरीले बरामद गरेका सामानमा १७५ किलोग्राम चिनी, १०० थान ठूलो पटका र ८०० थान सानो पटका रहेका छन्। बरामद चिनीको अनुमानित बजार मूल्य १७ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उक्त चिनीको कुनै बिल भरपाई नभएको पाइएको छ।
प्रहरीले बरामद पटकाजन्य विस्फोटक पदार्थ र तस्करी चिनीको स्रोत र गन्तव्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।