
रणभूमी सम्वाददाता मंगलबार, आश्विन २८, २०८२

जोगवनी / बथनाहा थाना प्रहरीले अन्तर्राष्ट्रिय मोटरसाइकल चोर गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जना नेपाल जेलबाट फरार रहेका छन्।
गोप्य सूचनाका आधारमा तीन जना व्यक्ति चोरीका मोटरसाइकल लिएर श्यामनगर कजरा मोड नजिक बिक्री गर्ने योजना बनाइरहेको जानकारी प्राप्त भएपछि अनुमण्डल प्रहरी पदाधिकारी फारबिसगञ्जको नेतृत्वमा बथनाहा थाना प्रहरी र सि.ए.पि.एफ.बल समावेश गरिएको छापामारी टोली गठन गरिएको थियो।
गठित टोलीले श्यामनगर कजरा मोडमा छापा मार्दा एक जना भाग्न सफल भए पनि दुई जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेकाहरूमा देवानगञ्ज, सुनसरी जिल्ला का २९ वर्षीय पिन्टु कुमार यादव र कप्तानगञ्ज, सुनसरी जिल्ला का २८ वर्षीय उमेश कुमार मेहता रहेका छन्। भाग्न सफल व्यक्तिको नाम सिनवारी, देवानगञ्ज, सुनसरी जिल्ला का अनिल यादव भएको खुलेको छ।
प्रहरीले पिन्टु यादवको कब्जाबाट रातो रंगको अपाची मोटरसाइकल, उमेश मेहताको कब्जाबाट कालो रंगको पल्सर मोटरसाइकल र फरार अनिल यादवले छोडेर भागेको कालो रंगको होंडा मोटरसाइकल बरामद गरेको छ। अभियुक्तहरूले यी मोटरसाइकलहरूको कुनै वैध कागजात प्रस्तुत गर्न सकेनन्।
पक्राउ परेकाहरूको बयानअनुसार अपाची मोटरसाइकल १०/१०/२०२५ का साँझ बथनाहा वीरपुर चौकबाट, पल्सर मोटरसाइकल बलभद्रपुरबाट र होण्डा मोटरसाइकल नेपालमा चोरी गरिएको हो।
तीनै जना अभियुक्तहरूले नेपालमा चोरी गरिएका मोटरसाइकल भारतमा र भारतमा चोरी गरिएका मोटरसाइकल नेपालमा नम्बर प्लेट परिवर्तन गरी बिक्री गर्ने गरेको स्वीकार गरेका छन्।
बरामद मोटरसाइकल र अररिया जिल्लाका विभिन्न थानाहरूमा भएका चोरी घटनामा अभियुक्तहरूको संलग्नता सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।