२८ आश्विन २०८२, मंगलबार
Tags

विराट मेडिकलमा रगतको अभाव

रणभूमी सम्वाददाता मंगलबार, आश्विन २८, २०८२

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिनयता रगतको अभाव देखिएको छ।

हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई रगतको अभाव भएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्।

दशैंपछि सबै समूहको रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रविण दाहालले जानकारी दिए। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलहरूमा रगतको अभाव सिर्जना भएको हो।

विराटनगरमा सुविधासम्पन्न हस्पिटलहरू भएका कारण टाढा टाढाबाट बिरामी आउने हुँदा रगतको माग पनि उच्च रहेको नेपाल रेडक्रस सोसाइटी मोरङले जनाएको छ।

विराट मेडिकलमा सहज रूपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको दाहालले जानकारी दिए। रगतको अभाव भएपछि बिरामीका आफन्तहरूले बढी हैरानी व्यहोर्नुपरेको छ।

हस्पिटलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको छ। तर दिनमा १५ देखि २० जनाले मात्र रक्तदान गर्ने गरेको दाहालले बताए।

रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरूलाई असर परेको छ।

हस्पिटलले सूचना जारी गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई विराट ब्लड बैंकमा गई रक्तदान गर्न अनुरोध गरेको छ। विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न र स्वस्थ नागरिकहरूलाई नजिकैको रक्त केन्द्रमा गई रक्तदान गर्न अपिल गरिएको छ।

इच्छुक रक्तदाताले विराट ब्लड बैंकको सम्पर्क नम्बर ९८०२७०९०८१ मा सम्पर्क गर्न सक्ने छन्।

यहाँ कमेन्ट गर्नुहोस्