
रणभूमी सम्वाददाता मंगलबार, आश्विन २८, २०८२

विराटनगर / तिहार पर्वको मौकामा व्यापारिक प्रयोजनका लागि अवैध रूपमा नेपाल भित्र्याइएको करिब ६ लाख ५१ हजार रुपैयाँ बराबरको बारुदजन्य विस्फोटक आतिशबाजी तथा पटका सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट नोचा मोरङले बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक मान बहादुर कटवालको नेतृत्वमा गरिएको अभियानमा यसपटक मात्रै करिब १ लाख रुपैयाँ बराबरको पटका बरामद गरिएको छ। यसअघि पनि सोही टोलीले ५ लाख ५१ हजार रुपैयाँ बराबरको प्रतिबन्धित पटका बरामद गरी नष्ट गरिसकेको छ।
बरामद गरिएका पटकाहरूलाई खाडल खनेर पानी खन्याई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सञ्चारकर्मीको रोहबरमा विधिपूर्वक नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३ हे.क्वा कंकालिनी माई गण टंकीले जनाएको छ।
नेपाल सरकारले प्रतिबन्ध लगाएको विस्फोटक आतिशबाजीहरू निलाम बिक्री र भन्सार दाखिला हुन नसक्ने भएकाले खाडलमा पुरेर पानी हाली नष्ट गरिएको हो।
तीव्र आवाजले कानको पर्दा च्यात्न, श्रवणशक्ति घट्न वा सधैंका लागि बहिरो बन्न सक्ने जोखिम रहन्छ। विशेषगरी बालबालिका, गर्भवती महिला र हृदयरोगीहरूमा यसको प्रभाव बढी हुन्छ।
पटका विस्फोटबाट हात, अनुहार र शरीरका अन्य अंगमा गम्भीर जलन र घाइते हुने घटनाहरू बढ्छन्। प्रत्येक वर्ष सयौं मानिस पटका दुर्घटनाको सिकार हुने गरेको तथ्यांकले देखाउँछ।
बारुदजन्य पटकाबाट निस्कने धुवाँ र रसायनले वायु प्रदूषण बढाउँछ, जसले श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछ।
लापरवाहीपूर्वक प्रयोग गर्दा घर, पसल र सार्वजनिक स्थलमा आगलागी हुने उच्च जोखिम रहने भरको हुनाले पटका जन्य आतिसवाजिहरु नेपालमा प्रतिबन्ध लगाइएको छ ।