२९ आश्विन २०८२, बुधबार
Tags

मोरङमा जबरजस्ती करणी आरोपमा दुई युवक पक्राउ

रणभूमी सम्वाददाता बुधबार, आश्विन २९, २०८२

विराटनगर / जबरजस्ती करणीको आरोपमा फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी नायब निरीक्षक डम्बर बहादुर थापाको टोलीले मंगलबार दिउँसो पौने ६ बजे ग्रामथान गाउँपालिका–४ मोतिपुरबाट आरोपित दुवै जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रंगेली नगरपालिका–१ बस्ने २२ वर्षीय आपताब माझि थारु र सोही ठाउँका २५ वर्षीय भोला चौधरी रहेका छन्। उनीहरूले असोज १७ गते राति १०:३० बजेको समयमा ग्रामथान गाउँपालिका–४ मर्चेनिया टोलस्थित बाँसघारीमा आंशिक सुस्त मानसिक अवस्थामा रहेकी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।

पीडितकी बुबाले असोज २२ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले आरोपितहरूको खोजी गर्दै आएको थियो। वारदातपछि फरार रहेका दुवै जनालाई प्रहरीले आज पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्