
रणभूमी सम्वाददाता बिहिबार, आश्विन ३०, २०८२

विराटनगर / ईलाका प्रहरी कार्यालय रानी विराटनगरको आयोजनामा विराटनगर महानगरपालिका वडा नं. १८ स्थित सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा सार्वजनिक सुनवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा बिहीबार बिहान ८ बजे सञ्चालन भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
झटियाही, बुद्धनगर, फडानी र जहदा लगायतका क्षेत्रका करिब ३ सय जना स्थानीयवासीहरूको सहभागिता रहेको कार्यक्रममा स्थानीय समस्या तथा गुनासो बुझ्ने र जनसमुदाय र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्य राखिएको थियो।
नेपाल-भारत सीमासँग जोडिएको सीमावर्ती क्षेत्र भएकाले जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानी विराटनगरले प्राथमिकतामा राखेर यो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा दोहोरो नागरिकता, लागुऔषधको कारोबार, घरेलु मदिरा, कृषि सम्बन्धी समस्या, खाद्यान्नको समस्या, अपराध र हिंसा लगायतका विषयमा गहन छलफल भएको थियो।
प्रहरी निरीक्षक राईले कार्यक्रममा उठेका सबै प्रश्नहरूको सकारात्मक रूपमा जवाफ दिएका थिए। प्रहरी उपरीक्षक कटवालले सबै नागरिकहरूमा अपनत्वको भावना जगाउँदै प्रहरी जनताका लागि सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीहरूले प्रहरी सबै नागरिकका लागि सहज र पहुँचयोग्य हुनुपर्ने प्रत्याभूति गरेका थिए। कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुर्याएको छ।