रणभूमी सम्वाददाता बुधबार, कार्तिक १२, २०८२
काठमाडौं / बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म देशका विभिन्न भू-भागमा भारी वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात हुनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले बुधबार जारी गरेको विज्ञप्तिमा कोशी, मधेश र बागमती प्रदेशका सबै जिल्ला, गण्डकीका गोरखा, नवलपरासी पूर्व, मनाङ र मुस्ताङ तथा लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र दाङमा सतर्क रहन भनिएको छ।
यातायात, कृषि र पर्यटनमा प्रभाव पर्न सक्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न, धान काटेको भए तत्काल भित्र्याउन र नदी किनारका बासिन्दा सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।