१८ कार्तिक २०८२, मंगलबार
Tags

४७ वर्षपछि पक्राउ परे फरार अभियुक्त राणा, डेढ मनिहा कैद सजाय र ४५ सय रुपैयाँ जरिवाना

रणभूमी सम्वाददाता मंगलबार, कार्तिक १८, २०८२

स्याङ्जा / स्याङ्जा जिल्ला प्रहरीले ४७ वर्षअघि भएको नकबजनि चोरी मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, स्याङ्जा गल्याङ नगरपालिका–१७ कल्लेरी बस्ने लालबहादुर रानामगरलाई पक्राउ गरिएको हो। उनलाई मिति २०८२ साल असोज १७ गते वडा प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले नियन्त्रणमा लिएको हो।

रानामगरविरुद्ध गल्याङ नगरपालिका–०७ हाल–१७ कल्लेरी निवासी दिलबहादुर रानामगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको अभियोगमा नकबजनि चोरी मुद्दा दर्ता भएको थियो। सो मुद्दामा मिति २०७५ साल मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतले दोषी ठहर गर्दै १ महिना १५ दिन कैद सजाय र रु. ४,५०० जरिवाना गर्ने आदेश दिएको थियो।

तर फैसला पछि उनी फरार रहँदै आएका थिए। लामो समयदेखि फरार रहेका रानामगरलाई प्रहरीले पक्राउ गरी सजाय तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको थियो। अदालतको आदेशपछि उनलाई जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, फरार अभियुक्तहरूको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिइने बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्