रणभूमी सम्वाददाता बिहिबार, कार्तिक २०, २०८२
बिराटनगर / ईलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङको जहदा गाउँपालिकामा प्रहरीले एम्बुलेन्समा लुकाइछिपाई लैजाँदै गरेको ३३ किलो बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाको आधारमा कारबाही गर्दै प्रहरीले बुधबार राति १० बजे जहदा गाउँपालिका–३ हातिबन्दामा नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता भएको स१च ६५६ नम्बरको एम्बुलेन्स रोकी चेकजाँच गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट प्रहरी खटेको टोलीले एम्बुलेन्स भित्र दुईवटा कालो रङको झोलामा लुकाइछिपाई राखेको अवस्थामा अवैध लागुऔषध गाँजा ३३ दशमलव ६१० किलोग्राम बरामद गरेको हो।
प्रहरीले एम्बुलेन्स चालक बिराटनगर महानगरपालिका–५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई एस्कर्टिङ गरिरहेको को३१प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ हातिबन्दा बस्ने ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई नियन्त्रणमा लिएको छ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एम्बुलेन्स सिरहाको सुखीपुर १० (दहपौडी) स्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखामा दर्ता भएको बताइएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रवक्ता कोपिला चुडाल ले जनाएको छ।