रणभूमी सम्वाददाता शुक्रबार, कार्तिक २८, २०८२
सुनसरी / सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोलबाट प्रहरीले ९८ किलोग्राम अवैध लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
कार्तिक २७ गते लागू औषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले छापामारी कारबाही गरेको थियो।
प्रहरीले इटहरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गरिरहेको अवस्थामा दुई जनालाई रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेमा घरधनी कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही ठाउँमा बस्दै आएका मनोज राई रहेका छन्।
प्रहरीले प्लास्टिकको पोकामा प्याक गरिएको ९८ किलोग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागू औषध नियन्त्रण ऐन अनुसार कारबाही अगाडि बढाइने प्रहरीले जानकारी दिएको छ।