रणभूमी सम्वाददाता आइतबार, मंसिर ०७, २०८२
बिराटनगर / शनिवार बिहान विराटनगर भन्सार कार्यालय नजिकै रहेको रानी टेक्सी स्ट्यान्ड वरिपरि ट्राफिक प्रहरी बिट रानीले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ। जेन जी आन्दोलनपछि अस्तव्यस्त बनेको ट्राफिक व्यवस्था र अव्यवस्थित तिनपाङ्ग्रे सवारीसाधनलाई व्यवस्थित गर्न तथा दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यो जनचेतनामूलक कार्यक्रम गरिएको हो।
ट्राफिक प्रहरी बिट रानीका प्रमुख प्रहरी नायब निरीक्षक रुपचन चौधरीका अनुसार शनिबार बिहानदेखि नै रानी नाका क्षेत्रमा तिनपाङ्ग्रे सवारीसाधन व्यवस्थापनका लागि ट्राफिकले विशेष पहल गरेका छन्।
कार्यक्रमका क्रममा मिनीबस, मारुति, अटो र सिटी सफारी चालकहरूसँग अन्तरक्रिया गर्दै ट्राफिक व्यवस्था कसरी सुध्रिन सक्छ भन्ने विषयमा छलफल गरिएको थियो। चालकहरूको सक्रिय सहयोग बिना ट्राफिक व्यवस्थापन सम्भव नहुने भन्दै उनीहरूलाई नियम पालनामा प्रोत्साहित गरिएको चौधरीले बताए।
यस पहलले असामान्य भीडभाड घट्ने, दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने तथा सवारीसाधन चोरी हुने घटना पनि कमी हुने अपेक्षा गरिएको छ।