०७ मंसिर २०८२, आइतबार
Tags

ईनरुवाबाट २०२ ग्राम खैरो हेरोईनसहित दुई जना पक्राउ

रणभूमी सम्वाददाता आइतबार, मंसिर ०७, २०८२

सुनसरी / ईनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा आइतबार खैरो हेरोईन कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले गरेको निगरानीबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी राजगढ–३ का २९ वर्षका दिलिप कुमार मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका–६ का २३ वर्षका शिवदत्त मण्डल रहेका छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले दुवै जनालाई दिउँसो करिब २ बजेतिर शंकास्पद अवस्थामा एक–आपसमा कुरा गरिरहेको बेला रोकेर चेकजाँच गरेको थियो। जाँचका क्रममा दिलिपको ब्यागभित्र दुई वटा प्लास्टिकको डिब्बामा लुकाइ राखिएको खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ।

प्राप्त जानकारी अनुसार प्लास्टिकसहित २०८ ग्राम र प्लास्टिक हटाएपछि २०२ ग्राम हेरोईन बरामद भएको छ। उनीहरूको साथबाट दुई थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा दुवैले मिलेर लागुऔषध कारोबार गर्दै आएको स्वीकार गरेका छन्।

बरामद गरिएको हेरोईन, मोबाइल फोन र पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्