२२ मंसिर २०८२, सोमबार
Tags

५ क्षमामा पढ्ने १२ वर्षीय बालिका अंशु गौतम हत्याकाण्ड: ५९ वर्षीय छिमेकी पदम पक्राउ (भिडियो सहित)

रणभूमी सम्वाददाता आइतबार, मंसिर २१, २०८२

बिराटनगर / मोरङको लेटाङ नगरपालिका–२ फडानीमा गत असोज २१ गते बेपत्ता भएकी १२ वर्षीया बालिका अंशु गौतमको हत्या गरेको अभियोगमा प्रहरीले ५९ वर्षीय पदम बहादुर अधिकारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज सार्वजनिक गरेको विवरणअनुसार, हिजो मंसिर १९ गते लेटाङ–२ फडानीस्थित अधिकारीको घरबाट उनलाई पक्राउ गरिएको हो। लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशु गत असोज २१ गते दिउँसो करिब २ बजे घरबाट हराएकी थिइन्।

बेपत्ता भएको भोलिपल्ट असोज २२ गते उनका बुबा नविन गौतमले इलाका प्रहरी कार्यालय लेटाङमा हुलिया निवेदन दिएका थिए। प्रहरी, नेपाली सेना, स्थानीयवासी र परिवारको संयुक्त खोजी अभियान चलाइएको थियो।

करिब दुई साताको खोजीपछि गत कात्तिक ७ गते दिउँसो १ बजे लेटाङ–२ बेलबारी चिसाङ साझेदारी वनमा घाँस काट्न गएका लोचन शाहीसमेत तीन स्थानीयले सडिगलेको अवस्थामा मानव शरीरका अवयवहरू फेला पारेका थिए।

घटनास्थलबाट फेला परेको कालो हाफ प्यान्ट, चप्पल र घडीलाई अंशुका बुबाले छोरीकै भनी सनाखत गरेका थिए। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टमले शव १२–१४ वर्षको बालिकाको र करिब तीन साताअघि मृत्यु भएको हुनसक्ने देखाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, असोज २१ गते दिउँसो अंशु आफ्नी साथी युरिका महतरासँग विद्यालय नजिकै खेलिरहेको अवस्थामा आरोपी अधिकारीले भेटेका थिए। युरिकालाई ५ रुपैयाँ दिएर निजको दिदी खोज्न पठाएपछि अधिकारीले अंशुलाई घाँस काट्न सहयोग गर्न भनी जंगलमा लगेको खुलेको छ।

अधिकारीले अंशुलाई साइकलको पछाडि राखेर झण्डै चार किलोमिटर भित्र जंगलमा लगी बलात्कारपछि घाँटी थिचेर हत्या गरेको र हँसियाले घाँटी समेत काटेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले कात्तिक ८ गते पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो। ‘अपरेशन जेएजी’ नामाकरण गरी केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले अनुसन्धान गरेको थियो।

प्रहरीले अनुसन्धानका क्रममा ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको र ५४ जनाको लिखित बयान लिएको जनाएको छ। अंशुका आमाबुबाको नियन्त्रित DNA नमुना कात्तिक ८ गते काठमाडौंस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। DNA परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अधिकारीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्